मेरो EDV यात्रा
मैले २०२२ मा EDV भरेको थिएँ। त्यसअघि पनि प्रायः हरेक वर्ष DV भर्दै आएको थिएँ, तर कहिल्यै परेको थिएन। तैपनि मैले DV भर्न भने कहिल्यै छोडिनँ। मनमा एउटा आशा थियो—कुनै न कुनै दिन अवश्य पर्छ।
त्यही क्रममा २०२३ को DV को रिजल्ट आउने दिन नजिकिँदै थियो। अन्ततः २०२३ मे ६ मा रिजल्ट आयो। मैले आफ्नो रिजल्ट चेक गर्न खोजेँ, तर DV भर्दाको Confirmation Number नै भेटिनँ। धेरै खोजेँ। खोज्दै जाँदा अघिल्लो वर्षको कागजपत्रमा Confirmation Number भेटियो।
त्यसपछि कम्प्युटरमा गएर रिजल्ट चेक गरेँ। स्क्रिनमा “Selected” देखियो।
मैले एकपटक मात्र होइन, दुई–तीन पटक हेरेँ। हरेक पटक त्यही “Selected” देखियो। केहीबेर त म आफैँ स्तब्ध भएँ। साँच्चिकै मेरो DV परेको हो त? विश्वास गर्नै गाह्रो भइरहेको थियो।
त्यसपछि छायाको पनि चेक गरेँ, तर उनको नाम देखिएन। सुरुमा यो कुरा मैले छायालाई मात्र भनेँ। Confirmation सबै कुरा निश्चित भएपछि छोरी, आमा र भाञ्जालाई पनि खबर गरेँ।
अर्को बिहान DV परेको कुरा एक जना भाइलाई पनि बताएँ। त्यसपछि अमेरिकामा रहेका साथीभाइ तथा आफन्तहरूसँग DV को प्रक्रियाबारे बुझ्न थालेँ।
त्यसपछि DV भर्ने र अगाडिको प्रक्रिया बुझ्न New Road स्थित E-Sport को कार्यालयमा फोन गरेँ। फोन गरेपछि “Class लिन आउनु” भन्ने खबर आयो। म E-Sport गएँ र करिब दुई घण्टाको Class लिएँ। त्यहाँ DV को प्रक्रियाबारे केही जानकारी पाएँ।
त्यसपछि पैसा तिरेर अगाडिको Process गर्नुपर्ने कुरा आयो। New Road मा ठूला–ठूला Building लिएर सयौँ Staff राखेको E-Sport ले हामीजस्ता मानिससँग पैसा लिएर प्रक्रिया गराउनेबाहेक अर्को विकल्प नै नभएको जस्तो मलाई लाग्यो।
मैले अझै धेरै कुरा बुझ्न खोजिरहेको थिएँ। Consular लाई भेट्न अनुमति माग्दा पैसा नदिई हुँदैन भनियो। Total Process गर्न कति पैसा लाग्छ भनेर सोध्दा पनि स्पष्ट जवाफ पाइनँ। त्यसपछि मैले E-Sport बाहेक अरू ठाउँबाट पनि बुझ्नुपर्छ भन्ने सोच बनाएँ।
त्यसै क्रममा अमेरिकाबाट भरत शाहले ERA मा जान सुझाव दिनुभयो। “त्यहाँ राम्रोसँग गरिदिन्छन्” भनेर उहाँले भन्नुभयो। त्यसैअनुसार म ERA मा बुझ्न गएँ। मलाई त्यहाँको प्रक्रिया ठीक लाग्यो। सबै Document तयार गरेर आउनु भनेर ERA का कर्मचारीले भन्नुभयो।
त्यसपछि आवश्यक Document हरू तयार गर्न थालेँ। Sponsor को कुरा पनि आयो। त्यतिबेला मेरो बसोबास काठमाडौंमै थियो।
कागजपत्र तयार गर्न आफ्नो जन्मस्थान अछाम जिल्ला, कमलबजार नगरपालिका–६ विरपथ पुग्नुपर्ने भयो। म मात्र गएर नहुने रहेछ, छोरीको पनि नाबालिग परिचयपत्र बनाउनुपर्ने रहेछ। नाबालिग परिचयपत्र नभएसम्म उनको Passport बन्ने थिएन। त्यसमाथि छोरीको School पनि छुटिरहेको थियो।
त्यसैले यसैबीच बसाइँसराइ गरेमा केही काम सहज हुने बुझेँ। त्यसपछि आफ्नो जन्मस्थान र लामो समय राजनीति गरेको ठाउँ छोडेर ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा बसाइँसराइ गर्ने निर्णय गरेँ।
बसाइँसराइ गरेपछि आफू र छोरी त्यहाँ उपस्थित नभए पनि केही कागजपत्रको काम गर्न सहज हुने रहेछ। त्यसैअनुसार वडा सचिव विनोद शाहलाई Email गरेर बसाइँसराइको काम गरिदिन अनुरोध गरेँ। उहाँले पनि मेरो अनुरोधलाई सहयोग गर्दै छिटो–छिटो बसाइँसराइको काम गरिदिनुभयो।
बसाइँसराइको काम सकिएपछि छोरी नोभाको नाबालिग परिचयपत्र ललितपुर जिल्ला प्रशासन कार्यालय (CDO) बाट बनाउने प्रक्रिया अगाडि बढ्यो। अहिले Online System भएकाले मेरी श्रीमतीको नागरिकता Online मा देखियो, तर मेरो नागरिकता भने देखिएन।
फेरि अछाम CDO Office मा Email गरेँ। मेरो नागरिकता चेकजाँच गरी छिटो पठाइदिन अनुरोध गरेँ। CDO साहेब तथा त्यहाँका कर्मचारीलाई फोन गरेर पनि अनुरोध गरेँ। करिब एक घण्टामै मेरो नागरिकताको विवरण उताबाट Email मार्फत आयो।
त्यसपछि छोरी नोभाको नाबालिग परिचयपत्र बन्यो। नाबालिग परिचयपत्र बनेपछि त्यही दिन Passport बनाउने योजना बनाएँ।
हत्तपत्त Passport को Form भरेँ। Passport को समय पाउन पनि निकै कठिन थियो। Cyber मा समय नपाए पनि Form भरिदिन अनुरोध गरेँ। समय भने करिब एक महिनापछिको थियो।
Passport बनाउने शाखामा चिनजानका तथा पटक–पटक सहयोग गरेका मेरा मित्र दीपक बी.के. हुनुहुन्थ्यो। उहाँलाई पनि अनुरोध गरेँ। Form भरिसकेपछि म, श्रीमती र छोरी तीनै जना त्रिपुरेश्वरमा Passport बनाउने ठाउँमा गयौँ।
त्यहाँ कुपन लिने मानिसहरूको ठूलो लाइन थियो। सोधपुछ गर्दा DV परेको व्यक्तिले समय कुर्नु नपर्ने र सोही दिन Passport Apply गर्न मिल्ने रहेछ भन्ने बुझियो। तर कुपन लिएर भित्र जान भने निकै गाह्रो भयो।
बच्चा र वृद्धलाई कुपन लिँदा लाइनमा बस्न नपर्ने रहेछ। त्यसैले छोरी नोभालाई लिएर छाया कुपन लिन जाने लाइनमा अगाडि गइन्। केही समयको झेलाझेलपछि कुपन पाइयो।
त्यसपछि भित्र गएर हाकिमको तोक लगाउन गयौँ। त्यहाँ फेरि हाकिमले नाबालिगको Passport बनाउन ललितपुर जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिन्छ भन्नुभयो।
अब फेरि दौडधुप सुरु भयो।
म हत्तपत्त ललितपुर CDO Office पुगेँ। निवेदन दिएँ र एक लाइनको सिफारिस लिएर फर्किएँ। त्यतिबेला करिब दिउँसो ३:३० बजिसकेको थियो।
सिफारिस लिएर आएपछि बल्ल Passport को काम अगाडि बढ्यो। नोभा र छायाको Passport Apply भयो। Apply गरेको अर्को दिन नै Passport पनि आयो।
मेरो Passport भने पहिले नै Saudi Arab जाने उद्देश्यले बनाइसकेको थिएँ। त्यही समयमा मेरा मित्र तथा नेपाली राजदूतावासका महामहिम राजदूत नवराज सुवेदीज्यूले मलाई Invitation गर्नुभएको थियो। तर त्यही बीचमा DV परेपछि म Saudi गइनँ।
तीनै जनाको Passport हातमा आएपछि अब अर्को महत्वपूर्ण काम—DS-260 Form भर्नुपर्ने भयो। अरू आवश्यक कागजपत्रहरू पनि तयार पार्न थालेँ।
DS-260 Form भरिसकेपछि मेरो मनमा अनेकौँ कौतूहल खेल्न थाले। अब जीवनको पुरानो बाटोबाट नयाँ यात्रातर्फ अघि बढ्दै छु भन्ने अनुभूति हुन थाल्यो।
DV को बारेमा बुझ्ने, USA को बारेमा बुझ्ने र अमेरिका पुगेपछि जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न Idea लिन थालेँ।
मैले गाडी सिक्ने निर्णय पनि गरेँ। त्यसका लागि Suzuki Driving Center, एकान्तकुना गएँ। सुरुमा छाया र म दिउँसो करिब १२ बजेतिर Driving सिक्थ्यौँ। पछि बिहान ५ बजेतिर पनि सिक्न जान्थ्यौँ। त्यहीँ Trial Center पनि भएकाले अभ्यास गर्न सजिलो हुन्थ्यो।
त्यहाँका सञ्चालक राजन जोशीसँग खड्क भाइले परिचय गराइदिनुभएको थियो। उहाँले हामीले राम्रोसँग नसिकेसम्म पैसा माग्नुभएन। अरूलाई करिब ४० हजार रुपैयाँ लाग्ने, लगभग एक महिनाको शुल्क रहेछ। हामीले License लिएपछि आफैँ गएर उहाँलाई पैसा दियौँ।
गाडी सिक्दै गर्दा Computer पनि सिकिरहेको थिएँ। बेलुका English Language को Class पनि Online बाट लिइरहेको थिएँ। Online Class बाट कतिपय कुरा राम्रोसँग बुझ्न कठिन भए पनि USA सम्बन्धी विभिन्न YouTube Video हेर्थें, समाचार सुन्थेँ र आफ्नो ज्ञान बढाउने प्रयास गरिरहेको थिएँ।
शुजन ढकाल, शिव शर्मा, किशोर पन्थी लगायत साथीहरूका Video पनि हेर्थें। English Conversation का विभिन्न Video हेर्दै आफ्नो अनुभव र ज्ञान बढाइरहेको थिएँ।
DS-260 Form भरिसकेपछि अब 2nd Letter को प्रतीक्षा थियो। DV सम्बन्धी जानकारीहरू, अमृत भण्डारीका जानकारीमूलक सन्देशहरू, usnepalpost का शिव शर्माका Video, विभिन्न News लगायत सामग्रीहरू हेर्दै अगाडि बढिरहेको थिएँ।
हरेक दिन मनमा एउटै प्रश्न हुन्थ्यो—अब अर्को खबर कहिले आउला? अबको यात्रा कहाँ पुग्ला?
तर एउटा कुरा भने निश्चित थियो—मेरो जीवनले अब नयाँ मोड लिइसकेको थियो।