नमस्कार!
म शंकर भण्डारी हुँ। हाल म संयुक्त राज्य अमेरिका को विस्कन्सिन राज्यमा बसोबास गर्दै आएको छु। म राजनीतिक विज्ञानको शोधार्थी, लेखक तथा सकारात्मक सोच र सामाजिक रूपान्तरणका पक्षमा निरन्तर कलम चलाउने व्यक्ति हुँ। मेरो विश्वास छ—सकारात्मक सोचले व्यक्तिको जीवन मात्र होइन, परिवार, समाज र राष्ट्रको भविष्यसमेत उज्यालो बनाउन सक्छ।
यही विश्वासलाई जीवनको मूल उद्देश्य बनाएर मैले ‘सकारात्मकताको यात्रा’ अभियान प्रारम्भ गरेको हुँ। यस अभियानमार्फत निराशालाई आशामा, नकारात्मक सोचलाई सकारात्मक सोचमा, र चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा प्रवाह गर्ने प्रयास गरिरहेको छु। मेरो लक्ष्य हरेक व्यक्तिमा आत्मविश्वास, नैतिकता, जिम्मेवारी र सकारात्मक जीवनदृष्टिको विकासमा सानो भए पनि योगदान पुर्‍याउनु हो।
यस वेबसाइटको स्थापना पनि यही उद्देश्यका साथ गरिएको हो। यहाँ मेरा विचार, लेख, प्रेरणादायी सन्देश, अनुसन्धान, अनुभव, यात्रा, सामाजिक गतिविधि तथा जीवनका विविध आयामसँग सम्बन्धित सामग्री नियमित रूपमा प्रकाशित गरिनेछ। यस वेबसाइटले सकारात्मक सोच, ज्ञान र अनुभवको आदानप्रदान गर्ने साझा चौतारीका रूपमा काम गर्ने विश्वास लिएको छु।
मेरो लेखन र अनुभवबाट तपाईंले प्रेरणा, ज्ञान र सकारात्मक ऊर्जा प्राप्त गर्नुहुनेछ भन्ने विश्वासका साथ यहाँलाई हार्दिक स्वागत गर्दछु। तपाईंको साथ, सुझाव र शुभेच्छा नै मेरो यात्राको सबैभन्दा ठूलो प्रेरणा हो।
धन्यवाद!
– शंकर भण्डारी