सुदूरपश्चिमको विकट जिल्ला अछामको साविक कालाआम गाउँ (हाल साँफेबगर नगरपालिका) मा जन्मेका भीम रावलले जन्मेको ७ दिनमै आफ्नो बुबालाई गुमाउनुपर्यो । बाल्यकालदेखि संघर्षसँग पौंठेजोरी खेल्दै आफ्नो विलक्षण प्रतिभाका बाबजुद जीवनमा धेरै आरोह-अवरोह भोगे उनले । केही समयदेखि उनी नेपाली राजनीतिको केन्द्रमा छन् र निरन्तर चर्चामा छन् ।
राजधानीबाट धेरै टाढा दूरदराजमा जन्मेका रावलको बाल्यकाल अत्यन्तै दुःख र संघर्षमा बित्यो । आमाले दुःख गर्दै खेतबारी बेच्दै उनलाई पढाउनुभयो । घरनजिकैको महेन्द्र मावि बयलपाटाबाट उनको शिक्षा आरम्भ भयो । कक्षा १ देखि एसएलसीसम्म अछामकै बयलपाटामा अध्ययन गरेका रावलले एसएलसी. पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौको आरआर क्याम्पसमा आएर मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट वि.स २०३८ सालमा स्नातकोत्तर प्रथम श्रेणीमा पास गरे ।
उनले त्यतिबेला लेखेको स्नातकोत्तर तहको शोधपत्र “नेपालमा साम्यवादी आन्दोलन: उद्भव र विकास” शीर्षकको शोधपत्र निकै चर्चित भएको थियो । उक्त शोधपत्र नेपाली र अंग्रेजी दुवै भाषामा पाइन्छ । त्यतिबेला त्यति दुर्गम गाउँबाट काठमाडौं आएर अध्ययन गर्नेको संख्या औंलामा गन्न सकिन्थ्यो । अछामबाट काठमाडौं आउन पनि धेरै दिन लाग्थ्यो ।
अध्ययन सँगसँगै राजनीति गर्दै विभिन्न राजद्रोहको आरोपमा जेल नेल खप्दै आएका रावलसँग अब्बलस्तरको विद्वता छ । हाल उमेरले ६६ बर्ष पुगेका उनी आफैं गाडी चलाउन सक्छन् । कम्प्युटरमा नेपाली र अंग्रेजी टाइप व्यवसायिक टाईपरहरूको भन्दा कम छैन । अंग्रेजी भाषालगायत अन्य भाषामा पनि दख्खल राख्छन् । कुनै विदेशीसँग अंग्रेजी भाषामा कुरा गर्नुपरेमा र पार्टीका विभिन्न दस्तावेज उल्था गर्दा उनको खोजी हुन्थ्यो । त्यति मात्र होइन उनी साहित्यकार तथा कवि पनि हुन् । उनका धेरै कविताहरू प्रकाशित भएका छन् । मञ्च या बैठकमा बस्दाबस्दै कविता लेख्न सक्छन् । त्यति मात्र होइन देउडा गीत गाउन र खेल्न पनि सिपालु छन् । त्यसैले उनलाई बहु प्रतिभाको धनीभन्दा पनि फरक पर्दैन ।
विद्यार्थी आन्दोलनमै होमिएको बेला आफ्नो अध्ययन अगाडि बढाउन कम चुनौती थिएन । त्यो पनि पञ्चायती शासकहरूले निर्मम रूपमा दमन गरेर उनलाई गिरफ्तार गरी नख्खु जेलमा हालेका थिए । नख्खु जेलमा रावल भोक हडताल बसेका बेला टाईफाईड भई थला परेका थिए । टाईफाईडको कारण शारीरिक रूपमा कमजोर भएका थिए । यसका बाबजुद पनि आफ्नो प्राज्ञिक लाइन कहिल्यै नछाडी राजनीति सँगसँगै अध्ययनलाई पनि अगाडि बढाए । अध्ययनमात्र होइन आफ्नो ब्याचमा स्नातकोत्तर तहमा प्रथम पनि भए ।
← Back to Blog
भीम रावलको विचलन: हिजोका हक्की नेता आज किन दुर्बल ?
By Shankar Bhandari · July 26, 2026